१ करोड ६१ लाख ८४ हजार ८५८ जना नेपालीले लगाए पूर्ण खोप

`

     २०७८ चैत्र ०६ गते १०:११

काठमाडौँ, ६ चैत्र । हालसम्म ९३ प्रतिशत नेपालीले कोभिड–१९ विरुद्धको खोप लगाइसकेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १८ वर्षमाथिको कूल जनसङ्ख्यामध्ये एक करोड ८४ लाख ९८ हजार १६० जनालाई कोभिडविरुद्धको खोपको कम्तीमा एक मात्रा दिइएको हो ।

यस्तै पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या भने एक करोड ६१ लाख ८४ हजार ८५८ रहेको छ । यो कूल लक्षित जनसङ्ख्याको ८१.२ प्रतिशत हो । साथै १२–१७ वर्ष उमेर समूहका ३१ लाख १८ हजार ७८५ (९१ प्रतिशत) जनाले पहिलो मात्रा खोप लगाइसेका छन् । १८ वर्षमुनि पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या २३ लाख ११ हजार ९९८ (६७ प्रतिशत) रहेको छ ।

मन्त्रालयका अनुसार यही चैत ४ गतेसम्ममा सबै उमेर समूहमा कूल तीन करोड ९२ लाख २३ हजार ९४१ मात्रा खोप प्रदान गरिएको छ । जसमध्ये एक करोड ८६ लाख ९५ हजार ८२६ पहिलो मात्रा, एक करोड ८६ लाख ९८ हजार ५९५ दोस्रो मात्रा र १८ लाख २९ हजार ५२० मात्रा बुस्टर डोज प्रदान गरिएको हो ।

नेपाल सरकारले भेरोसेल, कोभिशिल्ड, अस्ट्राजेनेका, मोडर्ना, फाइजर र जोन्सन खोप प्रदान गर्दै आएको छ। केही मात्र अनुदान सहयोग तथा अरु केही खरिद गरेर सरकारले कूल चार करोड ७८ लाख ८२ हजार ८०० मात्रा खोप प्राप्त गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?