काठमाडौँ, ४ चैत्र । नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङले सरकार बनाउनका लागि बनेको गठबन्धन र आउँदो चुनाव फरक-फरक विषय हुन् भन्ने कुरा नेताहरूले गहिरोसँग बुझ्न जरूरी रहेको बताएका छन्।
सत्तारूढ पाँचदलीय यो गठबन्धनलाई ०७९ वैशाख ३० मा हुने स्थानीय तह र त्यसपछिका प्रदेश तथा संघका चुनावमा पनि सँगसँगै लैजानुपर्ने र लैजान नहुनेमा दलहरूभित्र बिबाद छ।
कांग्रेसभित्र पनि सभापति देउवा गठबन्धन गरेर जान सकिनेमा छन् तर उपसभापति गुरूङलगायत नेता शेखर कोइराला पक्षका नेताहरू गठबन्धनका पक्षमा छैनन्।
कांग्रेसले अरू दलसँग तालमेल गर्ने वा नगर्नेबारे औपचारिक निर्णय गरेको छैन। कांग्रेसका नेताहरूले विभिन्न मन्चबाट फरकफरक कुरा गरिरहेका छन्।
‘कसैको बोलीको बारेमा टिकाटिप्पणी गर्न चाहन्न। त्यो राम्रो पनि हुन्न,’ गुरूङले भने, ‘अर्को कुरा, सरकार भनेको गठबन्धनबाट बनेको हो। सरकार एउटा पक्ष र चुनाव अर्को पक्ष हो भन्ने कुरा सबै पार्टीका नेताहरूले गम्भीर भएर बुझ्न आवश्यक छ।’
कांग्रेसले स्थानीय चुनावमा अरू दलसँग तालमेल गर्छ या गर्दै भन्ने निर्क्यौल अब बस्ने केन्द्रीय समितिको बैठकबाट तय गरिने उनले बताए।
उनले गठबन्धन गर्दा फाइदा हुन्छ भन्ने मानसिकताले केही दलका नेताहरूले हिसाबकिताब गर्ने गरेको आरोप लगाए।




