काठमाडौँ, ३ चैत्र । एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिनदेखि पोखरा पृथ्वीचोकसम्म चार लेनको सडक बनाउनलाई ठेक्का प्रकृया पुरा भएर काम सुरु भइसकेको छ । आँबुखैरेनीदेखी पृथ्वीचोकसम्म दुई खण्डमा विभाजन गरी ठेक्का लगाइएकोमा यतिबेला सडक विस्तार गर्न दायाँबायाँका रुख धमाधम कटान भइरहेको छ । तनहुँमा ६ हजार ७५० र कास्कीमा एक हजार २५० रुख काट्नुपर्नेछ ।
आँबुखैरेनी–जामुने पूर्वी खण्डको ४१.४५ किलोमिटर सडक स्तरोन्नतिको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको हो । जामुने–पोखरा पश्चिम खण्डको ३८.८८ किलोमिटरको ठेक्का चिनियाँ कम्पनी यनहुइ काइयुआन हाइवे एन्ड ब्रिज कम्पनीले लिएको होे ।
योजना प्रमुख नरेन्द्र सुवेदीको अनुसार आँबुखैरेनी–जामुने पूर्वी खण्डको ४ हजार ६७१ रुख कटान गर्नुपर्नेमा २ हजार ८०० रुख कटान गरिसकेको छ । रुख कटानसँगै सडक फराकिलो बनाउने काम पनि भईरहेको सुवेदीले बताए । जामुने–पोखरा पश्चिम खण्डमा तीन हजार ५१ रुख काटिएको छ । जामुने–पोखरा खण्डको तनहुँतर्फ रुख कटानको काम अन्तिम चरणमा पुगेको छ ।
सबै रुख काटेर सकेपछि चार लेन सडक आयोजनाले डिभिजन वन कार्यालयलाई बुझाउनेछ । वन कार्यालयले सडक स्तरोन्नतीका लागि काटिएको काठ लिलामी प्रकृयाबाट विक्री गर्ने जनाएको छ ।
गण्डकी प्रदेशको लाइफलाइन पृथ्वी राजमार्ग २०२६ सालमा रेखांकन भएको थियो । सवारी चाप थेग्न नसक्ने अवस्था भएपछि चार लेनको बनाउन सुरु गरिएको हो । आँबुखैरेनीदेखी मुग्लिन खण्डको आठ किलोमिटर दुरीको भने डिजाईन हुदैँछ । यो खण्डमा हाल पृथ्वीराजमार्गको भएको स्थानमा मस्र्याङ्दी जलविद्युत गृह रहेको छ । जलविधुत गृह र सडक फराकिलो बनाउन सकस हुने भएपछि सडकको रेखांकन नै परिवर्तन गर्नुपरेको जनाईएको छ ।
आँबुखैरेनी–जामुने पूर्वी खण्ड ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको हो । यस्तैगरी जामुने–पोखरा आठ अर्ब ४० करोड ४६ लाख रुपैयाँमा ठेक्का लगाईएको हो ।




