काठमाडौँ, फाल्गुन २८ । रुसी आक्रमण तिब्र गतिमा बढिरहेको भन्दै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उत्तर एटलान्टिक सन्धि संगठन(नेटो) सँग सम्पुर्ण सहयोग मागिरहेको बेला अमेरिकी राष्ट्रपति जो बाइडेनले रुससँग युद्ध लड्न युक्रेनमा सेना नपठाउने बताएका छन् । नेटो क्षेत्रको हरेक जमिन रक्षा गर्न आफूहरू तयार भए पनि युक्रेनमा रुसविरुद्ध युद्ध नलड्ने बाइडेनले बताएका छन् ।
बाइडेनले शनिबार एक ट्विट गर्दै भनेका छन्,‘ हामी एक संयुक्त र सशक्त नेटोको पूरा तागतका साथ नेटो क्षेत्रको हरेक इन्चको रक्षा गर्छौँ । त हामी युक्रेनमा रुसविरुद्ध युद्ध लड्ने छैनौँ ।’ बाइडेनले रुस र नेटोबीचको सिधा टकराव तेस्रो विश्वयुद्ध हुने पनि बताएका छन् । उनले भनेका छन्,‘रुस र नेटोबीचको सिधा टकराव भनेको तेस्रो विश्वयुद्ध हो जसलाई रोक्न हामीले प्रयास गर्नुपर्छ ।’
युक्रेनमा रुसले निरन्तर आक्रमण गरिरहेको छ । यसबीचमा विदेशमन्त्रीस्तरीय वार्ता पटक – पटक भए पनि युद्धविरामको प्रयास विफल भएको छ । यसबीच अमेरिकालगायत पश्चिमा मुलुकहरूले रुसमाथि आर्थिक प्रतिबन्ध बढाउँदै गएका छन् । विभिन्न देशहरुले रुसी तेलको आयातमा प्रतिबन्ध लगाएका छन् । अमेरिकाले रुसका ठूला व्यापारीमाथि पनि प्रतिबन्ध लगाएको छ । शुक्रबार मात्रै बाइडेनले रुसी मदिरा, सिफुड र हिरामाथि प्रतिबन्धको घोषणा गरेका थिए ।




