काठमाडौँ, २६ फागुन । रुसी आक्रमणको चपेटामा रहेको युक्रेनबाट नेपाली उद्धार गर्ने कार्य लगभग सकिएको छ ।
युक्रेनबाट नेपालीहरूलाई बाहिर ल्याउन खटिरहेका जर्मनका लागि नेपाली राजदूत रामकाजी खड्काले जर्मनस्थित नेपाली दूतावासमा सम्पर्क गरेका सबै नेपालीहरू युक्रेनबाट सुरक्षित रूपमा बाहिरिइसकेको जानकारी दिए । पछिल्लो तथ्यांक अनुसार हाल सम्म पोल्याण्डमा ४६६ जना, स्लोभाकियामा ७८ जना, रोमानियामा २८ जना, हंगेरीमा ८ जना, र ४ माल्दावा पुगेका हुन् । हाल सम्म ५८४ जना नेपालीहरु सुरक्षित गन्तव्यमा पुगेका छन् ।
करिब ३८ जनाको परिवार आफ्नो व्यवसाय सहित स्थाई बसोबास गर्दै आएकोले पारिवारिक, कानुनी र व्यवहारिक कारणले युक्रेनमा रहेका छन् ।
उद्धार समितिका संयोजक तथा एनआरएनएका उपाध्यक्ष डा। बद्री केसीले युक्रेनका युद्धमा परेका नेपालीको उद्धारको लागि नेपाली समुदायले ठूलो सहयोग गरेका कारणले नेपालीहरुको समयमै उद्धार गरेर ज्यान बचाउन सफल भएको बताए ।
बैठकले दाहालको संयोजकमा युद्ध पीडितको लागि आर्थिक सहयोग संकलन समिति गठन गरेको समितिको प्रेस संयोजक चिरन शर्माले जानकारी दिए । एनआरएनए पोल्याण्डका अध्यक्ष जीवन केसीले नेपालीहरुको सहयोगमा युद्ध पीडितहरूको उद्धार र व्यवस्थापन सफल भएको बताए ।
उनले युक्रेनबाट धेरै नेपालीहरु पोल्याण्डमा आएकोले उनीहरुको व्यवस्थापनको लागि ठूलो चुनौती रहेको बताए ।




