काठमाडौं, फागुन १६ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा एमसीसी विरूद्ध आन्दोलनमा उत्रिएका बन्दकर्ताहरूले नेकपा एमाले र नेपाली काँग्रेसको पार्टी कार्यालयमा पुगेर ढुंगामुढा प्रहार गरेका छन्। आन्दोलनकारीले प्रहार गरेको ढुंगामुढाबाट नेकपा एमाले र नेपाली काँग्रेसको कार्यालयमा ठुलो भौतिक क्षति पुगेको छ।
आन्दोलनकारीले यस अघि वीरेन्द्रनगरका मुख्य चोक मंगलगढी र यरीचोकमा आन्दोलन गर्दै सुरक्षामा खटिएका प्रहरीमाथि समेत ढुंगामुढा गरेका थिए । उनीहरूले नेकपा एमाले र नेपाली काँग्रेसको कार्यालयमा आगो लगाउने प्रयास समेत गरेका छन् । प्रहरी र आन्दोलनकारी बीच झडप भएपछि नियन्त्रणमा लिन प्रहरीले दुई दर्जन बढी अश्रुग्यास समेम हानेको थियो भने केही बन्दकर्तालाई नियन्त्रणमा समेत लिएको छ ।
एमसीसी बिरुद्धमा नेकपा विप्लवसहित ६ राजनीतिक दल र अन्य दुई मोर्चाले गरेको बन्दका कारण सुर्खेत केही समय तनावग्रस्त बनेको छ भने आन्दोलन नियन्त्रण बाहिर गएको छ । जसकारण आगामी दिनहरुमा एमसीसी बिरुद्ध निकै ठुलो आन्दोलन सबै क्षेत्रबाट उठ्ने सम्भावना देखिन्छ।




