प्रधानमन्त्री देउवाद्वारा जयनन्द लामाको निधनप्रति दुःख व्यक्त

`

     २०७८ फाल्गुन ११ गते ७:२१

काठमाडौँ, ११ फाल्गुण । प्रधानमन्त्री शेरबहादुर देउवाले कलाकार तथा लोकगायक जयनन्द लामाको निधनप्रति दुस्ख व्यक्त गरेका छन्।

बुधबार उनले सामाजिक सञ्जालमार्फत् उनको निधनप्रति दुस्ख व्यक्त गरेका हुन्।

‘कलाकार एवं लोकगायक जयनन्द लामाको असमायिक निधनबाट मुलुकले गितसंगीत, चलचित्र एवं हास्य क्षेत्रका एक असल साधक गुमाएको छ,’ प्रधानमन्त्री देउवाले लेखेका छन्, ‘दिवङ्गत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु।’

भक्तपुरको मध्यपुरथिमी नगरपालिका-१ लोकन्थलीको सचेत मार्गस्थित आफ्नै घर अगाडि ६६ वर्षीय लामा बुधबार बिहान मृत फेला परेका थिए।

सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका– २ धार्पाका लामाले‍ पाँच दशकअघि गायन यात्रा शुरू गरेका थिए।

लामाका कलकत्ते काइँयो केश मेरो बाँगो, पानी पर्‍यो बलेसी, हेलम्बु डाँडापारि, मेरो माया छ भने त्यता, लौन हजुर के गरौं नक्कलीलाई पातलीलाई कसरी बे गरुँ, चुईं चुईं चुइँकने जुत्ता, केको साँचो डल्ली रेशम फलामको साँचो, पानको पात, सलल पानी यही बस्यो बानी आँखैमा गाँजलु काखैमा मादलुजस्ता दर्जनौं लोकगीत अहिले पनि उत्तिकै लोकप्रिय छन्।

एक सयभन्दा बढी चलचित्रमा अभिनय गरिसकेका लामाले २०३० सालमा मनको बाँध चलचित्रमा पहिलो पटक अभिनय यात्रा सुरू गरेका थिए।

पछिल्लो समय हाँस्य टेलीश्रृंखला हल्का रमाइलोमा उनले अभिनय गर्दै आएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?