एजेन्सि, २३ माघ । स्वर कोकिलाको रुपमा चर्चित गायिका लता मंगेशकरको निधन भएको छ । उनको आइतबार ९२ वर्षको उमेरमा निधन भएको हो ।
उनलाई यसै वर्ष जनवरी महिनाको सुरुवातमा कोभिड संक्रमित भएपछि अस्पताल भर्ना गरिएको थियो ।
लता मंगेशकर एक महान पार्श्गायिका थिइन् । उनले भारतीय फिल्मी सङ्गीतलाई एक नयाँ परिभाषा दिएको धेरैको मान्यता छ ।
बलिउडको उदयसँगै यहाँका फिल्ममा पार्श्वगायक वा प्लेब्याक सिंगरको महत्वपूर्ण भूमिका रहेको छ, जसले फिल्मी पर्दामा अभिनेता र अभिनेत्रीलाई आफ्नो आवाज पर्दा पछाडिबाट दिँदै आइरहेका छन् ।
लता मंगेशकरलाई भारतकी सुर कोकिला भनिन्थ्यो । उनको फिल्मी सङ्गीत करियर आधा शताब्दिभन्दा पनि लामो रह्यो जसमा उनले ३६ भारतीय भाषामा ३० हजारभन्दा बढी गीत गाइन् ।
लता मंगेशकरको जन्म २८ सेप्टेम्बर सन् १९२९ को मध्य भारतको शहर इन्दौरमा भएको थियो । उनका पिता पंडित दिनानाथ मंगेशकर पनि गायक थिए । उनी थिएटर कलाकार पनि थिए र मराठी भाषामा सङ्गीतमय नाटकका निर्माता पनि थिए ।
लता मंगेशकर आफ्ना पिताका पाँच सन्तामध्ये सबैभन्दा जेठी थिइन् ।




