काठमाडौँ, १७ माघ । नेकपा एमालेका नेता भीम रावलले कुल रकममध्ये ३८.५ प्रतिशत रकमकाबारे एमसीसी सम्झौता मौन बसेको बताएका छन् ।
अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता राष्ट्रहितविपरीत रहेकाले सदनबाट पारि गर्न नहुने भन्दै सोमबार पत्रकार सम्मेलन गरेर रावलले एमसीसी सम्झौतामा कुल रकमको ३८.५ प्रतिशत केमा खर्च गर्ने भन्ने उल्लेख नगरेको बताए ।
‘अमेरिकाले सहयोग गर्ने ५० करोड डलर र नेपाल सरकारले हाल्ने १३ करोड रकममध्ये ६१.५ प्रतिशत रकम सडक र विद्युत् परियोजनामा खर्च गर्ने भनिएको छ,’ उनले भने, ‘बाँकी रकम केमा खर्च गर्ने रु यसबारे केही भनिएको छैन ।’
एमसीसी परियोजनाको रकमको बैंक ब्याजसमेत एमसीसीले लिन पाउने प्रावधान राखिएको भन्दै उनले परियोजनाका विषयमा एमसीसीको एकलौटी निर्णय लागु हुने बताए ।
एमसीसी परियोजनाका विषयमा नेपाल सरकारले कुनै निर्देशनसमेत दिन नपाउने गरी भएको एमसीसी सम्झौता सदनबाट पारित गर्ने र लागु गर्न नहुने नेता रावलको जोड छ ।
एसमीसीले लागु भएमा नेपालले आत्मनिर्णयको अधिकार गुमाउने दाबी गरेका उनले देशमा भएका भ्रष्टाचार र अनियमितता रोक्ने, बेरुजु घटाउँदा एमसीसीबाट प्राप्त हुने रकम देशभित्रबाटै संकलन हुने दाबी गरे ।




