ऊर्जा मन्त्री भुसाल र अस्ट्रेलियाली राजदूत भोल्कबीच भेटवार्ता

`

     २०७८ माघ १७ गते ८:०२

काठमाडौँ, १७ माघ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि अष्ट्रेलियाली राजदूत फेलिसिटी जान भोल्कले शिष्टाचार भेट गरेकी छन् ।

सो अवसरमा मन्त्री भुसालले अष्ट्रेलियासँगको साझेदारीलाई नेपालले उच्च महत्व दिएको उल्लेख गर्दै सन् १९६० देखिको द्विपक्षीय घनिष्ट, सौहार्दपूर्ण र मैत्रीपूर्ण सम्बन्धलाई अझ विस्तार गर्दै लैजानुपर्नेमा जोड दिइन् । उनले विश्वले सामना गरिरहेको महामारी र जलवायु परिवर्तनका चुनौति बढ्दै गएकाले आपसी सहकार्य पहिलाभन्दा अझ बढी आवश्यक रहेको उल्लेख गरेकी छन् ।

नेपाल–अस्ष्ट्रेलिया साझेदारीलाई थप सुदृढ बनाउन राजदूतले निर्वाह गरेको भूमिकको प्रशंसा गर्दै मन्त्री भुसालले नेपालको आर्थिक तथा सामाजिक विकासमा अस्ष्ट्रेलियाले पुर्याएको सहयोगप्रति धन्यवाद व्यक्त गरेकी छन् ।

राजदूत भोल्कले नेपालको आर्थिक तथा मानवीय क्षमता अभिवृद्धिका लागि अष्ट्रेलिया सरकारले निरन्तर सहयोग गर्ने विश्वास दिलाइन् । भेटका क्रममा उनले जलस्रोत र नवीकरणीय ऊर्जा प्रवद्र्धनमा पनि सहयोग गर्न इच्छुक रहेको उल्लेख गरेकी छन् । राजदूत भोल्कले विद्युतीय सवारी साधन प्रवद्र्धन गर्न र जलस्रोतका क्षेत्रमा सहकार्य गरेर अगाडि बढ्न चाहेको बताइन् ।

जलस्रोत व्यवस्थापनमा सहकार्य गर्नका लागि नेपालको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र अस्ष्ट्रेलियाको ‘कमनवेल्थ साइन्टिफीक एन्ड इन्डस्ट्रियल रिसर्च अर्गनाइजेसन’ सीएसआइआरओबीच सन् २०१७ मा समझादारी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?