एजेन्सि, १७ माघ । चीन विश्वमा सबैभन्दा धेरै जनसंख्या भएको मुलुक हुँदाहुँदै पनि चीन आफ्नो देशको घट्दो जनसंख्याबाट चिन्तित छ ।
कुनै समय जनसंख्या नियन्त्रणका लागि कडा कदम चालेको चीनको कम्युनिष्ट सरकारले अहिले जनसंख्या बढाउनका लागि विभिन्न खालका उपाय अपनाउन थालेका छ ।
चीनमा एक सन्तान नीति खारेज गरेर दुई सन्तान नीति लागू गरेपछि पनि जनसंख्या वृद्धिदरमा उल्लेख्य बढोत्तरी भएन । त्यसपछि सरकारले तीन सन्तान नीति लागू गरेको छ । तर यसले पनि चिनियाँ दम्पतीहरूमा सन्तान जन्माउने खासै रुचि देखिएको छैन ।
टाइम्स अफ इजरायलमा प्रकाशित एक ब्लगमा सिपिएफ (राजनीतिक तथा विदेश मामलिा केन्द्र) का अध्यक्ष फाबियन बोसार्टले बताएका छन् कि तीनवटा बच्चा जन्माउनेलाई चीनले प्रोत्साहनका रुपमा बेबी बोनस, लामो तलबी विदा, करमा कटौती तथा बच्चाको पालन पोषण गर्नका लागि अनुदान दिने घोषणा गरेको छ ।
आमा बुवालाई लोभ्याउने अफर
चिनियाँ अधिकारीहरू दम्पतीहरूलाई तेश्रो बच्चा जन्माउन प्रेरित गर्नका लागि संगठन तथा स्थानीय प्रशासनका माध्यमबाट विभिन्न खाने लोभ्याउने अफर पनि अगाडि सारिरहेका छन् । बेइजिङ डबिनंग टेक्नोलोजी ग्रुपले आफ्नो कर्मचारीहरुलाई ९० हजार युआनसम्म नगद, १२ महिनाको प्रसुति विदा र ९ दिनको सुत्केरी स्याहार बिदालगायतका विभिन्न सुविधा घोषणा गरेको छ ।
सन्तान नीतिमा परिवर्तन
गत अगष्टमा चीनले जनसंख्या एवम् परिवार नियोजन कानून पारित गरेसँगै चीनका २० भन्दा धेरै प्रान्तीयस्तरका क्षेत्रहरूले आफ्नो स्थानीय शिशु नियमहरुमा संशोधन गरे ।
चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार बेइजिङ, शिचुआन तथा जियाङ्सीलगायतका विभिन्न क्षेत्रमा यसै सिलसिलामा विभिन्न सहायक उपायहरुको पनि घोषणा गरियो जसमा पितृत्व अवकाश, मातृत्व अवकाश तथा विवाहका लागि छुट्टीको अवधि बढाउने लगायतका छन् ।
जनसंख्या वृद्धिदर लगातार पाँचौँ वर्ष पनि घट्यो
चीनको जनसंख्या अघिल्लो वर्षको अन्त्य सम्ममा १ अर्ब ४१ करोड २६ लाख पुगेको छ । यस अनुसार चीनमा एक वर्षमा केवल पाँच लाखभन्दा पनि कम जनसंख्या बढेको छ र लगातार पाँचौँ वर्ष पनि जनसंख्या वृद्धिदर घटेको छ । यो आँक्डाले विश्वको सबैभन्दा धेरै जनसंख्या भएको देशमाथि मडारिइरहेको जनसांख्यिक खतरा र त्यसले उत्पन्न गर्ने आर्थिक खतरालाई लिएर भय पैदा गर्दछ ।
राष्ट्रिय जनसांख्यिक ब्यूरोका अनुसार चीनको मूख्य भूभागको जनसंख्या सन् २०२० मा करीब १ अर्ब ४१ करोड २० लाखबाट बढेर २०२१ को अन्तसम्ममा १ अर्ब ४१ करोड २६ लाख पुगेको छ ।
ब्युरोका अनुसार सन् २०२० पछि एक वर्षमा चीनको जनसंख्या मात्रै ४ लाख ८० हजारले बढेको छ । सन् २०२१ मा १ करोड ६ लाख बच्चा जन्मिएका छन् जबकि सन् २०२० मा १ करोड २० लाख बच्चा जन्मिएका थिए ।
सिन्ह्वाको रिपोर्ट अनुसार यो तथ्यांकमा हङकङ तथा मकाउ निवासी तथा मूख्य भूमिका ३१ प्रान्त, स्वायत्त क्षेत्र तथा नगरपालिकाहरुमा रहने विदेशीहरू सामेल छैनन् ।
ब्युरोका अनुसार सन् २०२१ मा चीनमा नवजात शिशुको संख्या १ करोड ६ लाख २० हजार थियो भने जन्मदर ७.५२ प्रतिहजार रह्यो । अघिल्लो वर्ष चीनको राष्ट्रिय मृत्युदर चाहिँ ७।१८ प्रतिहजार थियो । जन्मदरमा मृत्युदर घटाउँदा जनसंख्या वृद्धिदर केवल ०.३४ प्रतिशत कायम रहेको छ ।




