काठमाडौँ, १२ माघ । पछिल्लो एक वर्षमा नेपालको कुटनीतिक सम्बन्ध भएका मुलुकहरूको सूचीमा तीन देश थपिएका छन् । यससँगै अब नेपालको कुटनीतिक सम्बन्ध भएका देश १७१ पुगेका छन् ।
परराष्ट्र मन्त्रालयले बुधबार सन् २०२१ को वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै पछिल्लो एक वर्षमा नेपालले गाम्बिया, सियरालियोन र कमन वेल्थ अफ कोमिनिकासँग कुटनीतिक सम्बन्ध स्थापना गरेको जनाएको छ ।
नेपालले सबैभन्दा पहिला सन् १८१६ मा बेलायतसँग कुटनीतिक सम्बन्ध स्थापना गरेको थियो । त्यसपछि सन् १९४७ मा अमेरिकासँग र भारतसँग कुटनीति सम्बन्ध स्थापना गरेको थियो ।
त्यो संख्या अहिले बढेर १ सय ७१ पुगेको हो । नेपालको अहिले ३० राजदूतावास, तीन वटा संयुक्त राष्ट्रसंघका लागि स्थायी नियोग र सातवटा महावाणिज्य दूतावास छन् ।
हरेक वर्ष झैं परराष्ट्र मन्त्रालयले यस वर्ष पनि नेपालको भारत र चीनसँग सम्बन्ध सुदृढ रहेको दाबी गर्दै प्रतिवेदन बाहिर ल्याएको छ ।
कोभिड–१९ संक्रमणका कारण नेपालमा छिमेकी मुलुक भारत र चीनदेखि अमेरिका लगायत अन्य मुलुकहरूले गरेको स्वास्थ्य सामग्री र खोप सहयोगलाई प्रतिवेदनमा समेटिएको छ ।
प्रतिवेदनमा नेपालले पहिलो पटक गत वर्ष जारी गरेको नेपालको परराष्ट्र नीति–२०२० जारी गरिएको, नेपाल अल्पविकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नतिका लागि सिफारिस भएको, संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्मा फेरि सदस्य निर्वाचित भएको तथा नेपाल संयुक्त राष्ट्रसंघ अन्तर्गत शान्ति स्थापनार्थ दोस्रो स्थानमा उक्लिएको उल्लेख गरिएको छ ।




