एजेन्सि, ९ माघ । न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा अर्डर्नले आफ्नो विवाह पुनः रद्द गरेकी छिन् । देशमा स्थानीय स्तरमा ओमिक्रोनको संक्रमण रोक्नका लागि नयाँ नियम लागू भएसँगै उनले आफ्नो विवाह रद्द गरेको उनले आइतबार पत्रकारसँग भनेकी छिन् ।
आइतबार मध्य रातदेखि न्युजिल्याण्डमा मास्कको नियम र मानिसहरु जम्मा हुने नियममा कडाई गरिएको छ । एक विवाहमा सरिक भएका ९ जना व्यक्तिमा ओमिक्रोन संक्रमण देखिएको थियो ।
न्युजिल्याण्डमा आइतबार रातीदेखि मास्क अनिवार्य गरिएको छ । रेष्टुरेन्ट, बार र विवाहलगायतका कार्यक्रममा सयजना मात्रै उपस्थित हुन पाउनेछन् । भ्याक्सिन पास उपलब्ध नगराउने स्थानमा २५ जनाभन्दा बढी उपस्थित हुन नपाउने आर्डर्नले बताएकी छिन् ।
‘मेरो विवाहको कार्यक्रम अघि बढ्ने छैन,’ उनले पत्रकारसँग भनिन् । ‘मजस्तै परिस्थितिमा भएकाहरुका लागि म माफी माग्न चाहन्छु ।’




