मन्त्री रेणु यादवलाई तत्काल कारबाही गर्न माग

`

     २०७८ माघ ०७ गते ८:१७

काठमाडौँ, ७ माघ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई तत्काल पदबाट बर्खास्त गर्न नागरिक अगुवाहरुले माग गरेका छन् ।

मन्त्री यादवले बुधबार रौतहटको गौरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सीके राउतलाई लक्षित गर्दै अर्को ‘गौर नरसंहार’ गराउने धम्कीको भाषा बोलेपछि उनी विवादमा तानिएकी छन् ।

बहालवाला मन्त्रीजस्तो मान्छेले हत्या र नरसंहारको धम्की दिएको भन्दै ८ नागरिक अगुवाले उनलाई बर्खास्त गर्न माग गरेका हुन् । नागरिक अगुवा डा। केदानरनरसिंह केसी, चरण प्रसाई, गणेशकुमार मण्डल, सुशील प्याकुरेल, तारानाथ दाहाल, इन्द्र अर्याल, महामुनीश्वर आचार्य र कनकमणि दीक्षितले संयुक्त विज्ञप्ती निकाल्दै उक्न अभिव्यक्ति आपत्तिजनक रहेको बताएका छन् ।

विज्ञप्तीमा भनिएको छ, ‘बहालवाला मन्त्रीले व्यक्ति हत्याको धम्की दिनु र विगतका हत्याकाण्डमा सामेल भएको विषयलाई गर्वसाथ स्वामित्व लिनु मुलुकमा जारी दण्डहीनताको प्रतिफल हो । मन्त्री रेणु यादवको हिंसात्मक अभिव्यक्ति सार्वजनिक भएको तीन दिनसम्म सरकारबाट कुनै चासो, चिन्ता वा सरोकार व्यक्त नहुनुले यस्तो हिंसात्मक सोच र कार्य संघीय सरकारको धारणा हो कि होइन भन्ने गम्भीर प्रश्न समेत पैदा भएको छ ।’

‘हामी प्रधानमन्त्री देउवासमक्ष मन्त्री रेणु यादवलाई तत्काल पदमुक्त गरी कानुनी कारवाहीको दायरामा ल्याउन जोडदार माग गर्दछौँ,’ विज्ञप्तीमा भनिएको छ ।

यसअघि जनमत पार्टीका अध्यक्ष सीके राउतले पनि बिहीबार मन्त्री यादवलाई तत्काल कारबाही गर्न माग गरेका थिए ।

गौर हत्याकाण्डमा माओवादी समर्थक २८ जना युवायुवतीको विभत्स हत्या भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?