काठमाडौँ, ७ माघ । सरकारले आजदेखि सार्वजनिक स्थलमा प्रवेश गर्न र सेवा लिनका लागि खोप कार्ड अनिवार्य देखाउनुपर्ने नियमलाई लागू गरेको छ ।
अब कार्यालय, होटल, फिल्म हल, रंगशाला, हवाईयात्रा गर्दा कोरोनविरुद्धको खोप लगाएको कार्ड वा फोटो अनिवार्य रुपमा देखाएर मात्रै प्रवेश गर्न पाइने छ । सरकारले खोप कार्ड अनिवार्य गरेसँगै केही मानिसको खोप लगाएको कार्ड हराएकोले नयाँ प्रतिलिपि बनाउनुपर्ने हुन्छ ।
मन्त्रालयका अनुसार तीन तरिकाबाट हराएको खोप कार्ड लिन सकिन्छ । पहिलो दुवै मात्रा खोप लगाइसकेको भए दोस्रो मात्रा लगाएको खोप केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट खोप कार्डको प्रतिलिपि लिन सकिन्छ । दोस्रो जोन्सन एण्ड जोन्सन खोप लगाएको भए सोही केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट खोप कार्डको प्रतिलिपि लिन सकिन्छ।
तेस्रो पहिलो मात्रा खोप लगाएकाले खोप लगाएकै केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट खोप कार्डको प्रतिलिपि लिन सकिन्छ ।




