काठमाडौँ, २ माघ । नेपाल सरकारले महाकाली नदीपूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको अभिन्न अंग रहेको बताएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको पत्रकार सम्मेलनमा नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “नेपाल सरकारले भारत सरकारलाई नेपाली भू-भाग भएर जाने कुनै पनि किसिमको एकपक्षीय सडक निर्माण÷विस्तार रोक्न आग्रह गर्दै आएको छ ।”
दुई देशबीचको सीमा समस्याको समाधान ऐतिहासिक सन्धिसम्झौता तथा नक्सा र प्रमाणका आधारमा कूटनीतिक माध्यमबाट गर्न नेपाल सरकार प्रतिबद्ध रहेको उहाँले उल्लेख गर्नुभयो ।




