काठमाडौँ, ३० पौष । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले वैशाखमा स्थानीय तहको निर्वाचन गर्नैपर्ने बाध्यता भएको राजनीतिक दलहरूलाई बताएका छन् ।
राष्ट्रियसभा र स्थानीय निर्वाचनका सन्दर्भमा प्रमुख निर्वाचन आयुक्त थपलियाले शुक्रबार निर्वाचन आयोगको कार्यालयमै बोलाएर वैशाखमा कुनै पनि हालतमा स्थानीय तहको चुनाव हुनुपर्ने भन्दै त्यसका लागि वातावरण बनाउन दवाव दिएका हुन् ।
शुक्रबारको सर्वदलीय बैठकमा थपलियाले वैशाखमा स्थानीय तहको निर्वाचन गराउन माघको पहिलो हप्तासम्म निर्वाचन घोषणा गरिसक्नुपर्ने बताए ।
आयोगले ०७९ साल वैशाख १४ गते एकै चरणमा वा दुई चरणमा गर्ने भए वैशाख १४ र २२ गते स्थानीय निर्वाचन गर्न प्रस्ताव गरेको थियो । तर, त्यसबारे सरकारले अहिलेसम्म कुनै निर्णय गरेको छैन ।



