काठमाडौँ, १७ पौष । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अब अनलाइन सञ्चारमाध्यम नै पत्रकारिताको मूलधार बनेको बताएका छन् ।
शनिबार अनलाइन पत्रकार संघको ११ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री कार्कीले यस्तो बताएका हुन् ।
‘पत्रकारिताको मूलधार नै अनलाइन पत्रकारिता भइसक्यो, त्यसैले यसमा कुनै समस्या भए सरकार सहजीकरण र सहयोग गर्न तयार नै छ।’ उनले भनेका छन्, ‘यसलाई थप व्यवस्थित बनाउन आवश्यक कानुन निर्माण र संशोधन गर्नुपरे पनि सरकार तयार छ ।’
मन्त्री कार्कीले अन्य सञ्चारमाध्यम झैं अनलाइन सञ्चारमाध्यमलाईसमेत समानुपातिक विज्ञापन उपलब्ध गराउन कार्यविधी बनिरहेको भन्दै वर्तमान सरकार प्रेस स्वतन्त्रतामा अवरोध हुने कुनै गतिविधीबारे सोच्नसमेत नसक्ने बताए ।
संघले आफ्नो साधारण सभाको अवसरमा पत्रकार केपी ढुंगानालाई पुरस्कृत गरेको छ । संघले पत्रकार ढुंगानालाई पहिलो ‘अनलाइन जर्नलिज्म अवार्ड’ प्रदान गरेको हो ।
अब हरेक दुई वर्षमा आफ्ना सदस्यहरूमध्येबाट उत्कृष्टलाई पुरस्कार दिने संघका अध्यक्ष शिवप्रसाद सत्यालले बताए।
डेढ दशकदेखि पत्रकारितामा संलग्न ढुंगाना संघका पूर्वअध्यक्ष समेत हुन् । उनी अन्तरदेशीय अपराध सम्बन्धी पुस्तक ‘ओपन सेक्रेट का लेखक हुन्।




