एजेन्सि, १४ पौष । जोर्डनको संसदमा मंगलबार सांसदहरूबीच झडप परेको छ छ।
समाचार संस्था एपीका अनुसार संविधानको संशोधन विधेयकमा छलफल हुँदा कुटाकुट भएको हो।
जोर्डन राजतन्त्रात्मक मुलुक हो। सन् १९९९ देखि त्यहाँ अब्दुल्लाह राजा छन्। संवैधानिक राजतन्त्र भए पनि जोर्डनका राजाले प्रधानमन्त्री नियुक्त गर्ने र संसद विघटन गर्ने अधिकार छ।
शाही आयोगले प्रस्ताव गरेको संविधान संशोधनमा प्रधानमन्त्री चुन्ने अधिकार संसदलाई हुने उल्लेख छ।
आलोचकहरूले भने संविधानमा गर्न लागिएका अरू परिवर्तनहरूले राजालाई थप अधिकार दिने बताउँदै आएका छन्। संविधान संशोधन प्रस्तावलाई लिएर जोर्डनमा प्रदर्शनहरू पनि भएका थिए।
संसद बैठकमा सांसदहरूले शाब्दिक आक्रमण गर्ने क्रममा उनीहरू मुक्का हानाहानमा उत्रिएका हुन्। कुटाकुटमा कोही गम्भीर घाइते भने भएका छैनन्।
जोर्डनको पछिल्लो संविधान सन् १९५२ मा लागू भएको हो जुन अहिलेसम्म २९ पटक संशोधन भइसकेको छ।




