राजाले नयाँ पार्टी खोले हुन्छ, अब राजतन्त्रको कुनै सम्भावना छैन- माधव नेपाल

`

     २०७८ मंसिर २४ गते ११:०३

काठमाडौँ, २४ मंसिर । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा राजतन्त्र नफर्कने दाबी गर्दै पूर्वराजा ज्ञानेन्द्रलाई पार्टी खोलेर राजनीतिमा आउन आग्रह गरेका छन्।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्‌घान कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले यस्तो बताएका हुन्।

‘राजाले नयाँ पार्टी खोले हुन्छ, व्यापाररव्यवसाय गरे हुन्छ। अब राजतन्त्रको कुनै सम्भावना छैन’, नेता नेपालले भने।

उनले राजनीतिक दलले नै सम्बृद्धिको यात्रा अगाडि बढाउने भन्दै पार्टीभित्र र बाहिर भएका विकृतिलाई पन्छाउनुपर्ने बताए।

उनले प्रतिगामी तत्त्वलाई फेरि शीर उठाउने दुस्साहस नगर्नसमेत चेतावनी दिए।

‘भष्ट्राचार, मैमत्त हुने स्वभाव, अरुको सम्मान नगर्ने प्रवृत्ति नेपाली राजनीतिको विकृति हो’, उनले भने।

उनले दोस्रो जनान्दोलनमा कांग्रेससँग हातेमालो गर्दै अगाडि बढेको उल्लेख गरे। उनले आफू १६ वर्षअगाडिको कांग्रेस महाधिवेशन स्मरण गर्दै अब नेपालमा राजतन्त्रको कुनै सम्भावना नरहेको जिकिर गरे।

एमाले विभाजनपछि पहिलो पटक केपी ओलीसँगको मञ्चमा रहेका उनले ओलीलाई इंगित गर्दै सत्ताको दुरूपयोग गर्ने प्रवृत्तिले देशको राजनीतिलाई अस्थिरतामा ल्याएको आरोपसमेत लगाए।

नेता नेपालले सत्ता र शक्तिको दुरुपयोग गर्ने प्रवृत्तिलाई अन्त्य गर्नुपर्ने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?