काठमाडौँ, २२ मंसिर । अमेरिकी राष्ट्रपति जो बाइडनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनसँगको सैन्य तनाव कम गर्न भनेका छन् ।
बाइडनले मंगलबार पुटिनसँग भएको २ घण्टा लामो भर्चुअल बैठकमा युक्रेन वरपर रुसी सेनाको बढ्दो उपस्थितिका कारण अमेरिका र युरोपेली मुलुकहरू निकै चिन्तित भएको बताएका थिए ।
भर्चुअल बैठकपछि ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा युक्रेनसँगको सैन्य तनाव थप चर्काएमा रुसविरुद्ध कडा कदम चालिने उल्लेख छ । विज्ञप्ति अनुसार बाइडनले युक्रेनको भौगोलिक अखण्डताप्रति अमेरिकी समर्थन दोहोर्याएका छन् ।
‘राष्ट्रपति बाइडनले युक्रेनको सार्वभौमिकता तथा भौगोलिक अखण्डताप्रति आफ्नो समर्थन पुनस् दोहोर्याउनु भएको छ र तनाव कम गर्दै कुटनीतिमा फर्किन अपिल गर्नु भएको छ’, ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।




