काठमाडौँ, २२ मंसिर । सिन्धुपाल्चोक जिल्लाकै पुरानो र ऐतिहासिक नगरी त्रिपुरासुन्दरी गाउँपालिकाको तौथली बजारस्थित १ हजार वर्ष पुरानो त्रिपुरासुन्दरी देवीको मन्दिरबाट मूर्ति र कलश चोरी भएको छ ।
त्रिपुरासुन्दरी गाउँपालिका वडा ५ तौथलीका अध्यक्ष विष्णुभक्त श्रेष्ठका अनुसार करिब सय वर्ष पुरानो भगवतीको मूर्ति र कलश साथै १० वर्ष पुरानो विष्णूको दुईवटा कलात्मक मूर्ति चोरी भएको हो । साथै तीनवटा तामाको कलश पनि चोरी भएको बताइएको छ ।
मंगलबार करिब २ बजे मध्यरातमा दुईजना अन्जान युवक तीव्र वेगमा मोटरसाइकलमा मन्दिरमा आएको स्थानीयहरूले देखेको बताएका छन् । बेलुकी बालेको बत्ती निभाउन जाँदा पूजापाठ सुरु गर्दा मन्दिरको ढोका खुला देखेको र हेर्दा मूर्ति कलश नरहेको स्थानीयहरूले बताएका छन् ।
‘कलशको विधिपूर्वक पूजापाठ सकेपछि मात्रै यहाँ फूलपाती भित्र्याउन मिल्छ, जात्रा पूजा हुन्छ, त्यही महत्वपूर्ण प्राचीन कलश हराएपछि स्थानीयको श्रद्धामनमा चोट लागेको छ,’ वडाध्यक्ष श्रेष्ठले भने ।
दसैंको फूलापतीको दिन मन्दिरकै मान्यता अनुसार त्रिपुराकै धुस्कुनका पहरी समुदायले तीनवटा माछा चढाउने परम्परा छ । माछालाई बली चढाएर यहाँ पूजा सुरु हुन्छ । यस्तै अष्टमीको दिन कालो रंगको बोकाको मात्रै बली दिइन्छ ।




