काठमाडौँ, २० असोज । नेपाललाई चीनले कोरोनाभाइरसविरूद्धको सिनोभ्याक खोप १० लाख डोज अनुदानमा दिने भएको छ।
काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्छीले बुधबार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठसँगको भेटमा चिनियाँ सरकारले थप १० लाख डोज अनुदानमा दिने निर्णय गरेको जानकारी दिएकी हुन्।
कोरोनाभाइरसविरूद्ध लड्न नेपाललाई चीनले ५० लाख चिनियाँ युआन (९ करोड २४ लाख रुपैयाँ) सहयोग गर्ने पनि राज्यमन्त्री श्रेष्ठले ट्वीटरमा उल्लेख गरेका छन्।
श्रेष्ठका अनुसार चीनले ३ लाख डोज खोप नेपाली सेनाका लागि पनि अनुदान दिने बताएको छ।
काठमाडौंस्थित चिनियाँ राजदूतावासले पनि सिनोभ्याक खोप ल्याउनेबारे दुई देशका अधिकारीहरूले आवश्यक तयारी गरिरहेको जनाएको छ।




