काठमाडौँ, २० असोज । पछिल्लो समय चिन र ताइवानबिच तनाब बढ्दै गएको छ ।
शुक्रबार चीनको राष्ट्रिय दिवसको दिनबाट चिनियाँ सैन्य जहाज ताइवानको हवाई सुरक्षा क्षेत्र(एडीआईजी)मा प्रवेश गर्न सुरु गरेको थियो । सोमबार अहिलेसम्मकै धेरै ५६ वटा चिनियाँ जहाज एडीआईजीमा प्रवेश गरेको र जवाफमा आफूले पनि लडाकू विमान पठाएको ताइवानले जनाएको थियो ।
ताइवानको हवाई सुरक्षा क्षेत्र मा चीनले सैन्य जहाज पठाएपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग छलफल गरेका छन् ।
बाइडेनले मंगलबार उनी र राष्ट्रपति सीबीच छलफल भएको बताए । ‘मैले सीसँग ताइवानबारे कुरा गरेको छ, ह्वाइट हाउसमा उनले भने, ‘हामी ताइवान सम्झौतालाई अंगिकार गर्छौँ भन्ने हामी एकमत थियौँ र हामीले पनि चीनले सम्झौतालाई पालना गर्नेबाहेक अन्य कुरा गर्नुहुँदैन भन्ने कुरा स्पष्ट राख्यौँ ।’
बेइजिङले ताइवानले आफ्नै क्षेत्र मान्दछ । सन् २०२० को तुलनामा त्यस्ता गतिविधिहरु यो वर्ष दुई गुणाले बढ्ने अपेक्षा गरिएको छ । बुधबार ताइवानका रक्षा मन्त्री चिउ कुओ–चेङले संसद्मा दुई देशबीचको तनाव ४० वर्ष यताकै खराब अवस्थामा रहेको बताएका थिए । बेइजिङले सन् २०२५ भित्र टापुमा पूर्णरुपमा आक्रमण गर्न सक्ने उनले चेतावनी पनि दिएका थिए ।
मंगलबार ‘फरेन अफेयर्स’ नामक चर्चित जर्नलमा एक लेख प्रकाशित गर्दै ताइवानकी राष्ट्रपति साई इङ–वेनले आफ्नो देशको प्रजातन्त्र र जीवनलाई चुनौति दिए त्यसको रक्षा गर्न आफूहरुले जस्तो सुकै कदम चाल्ने चेतावनी दिएकी थिइन् ।
उनको लेखको जवाफमा चिनियाँ सरकारी मुखपत्र ग्लोबल टाइम्सले राष्ट्रपति र उनको डेमोक्रेटिक प्रोग्रेसिभ पार्टीले ताइवानको प्रजातन्त्रलाई अतिवादी सिद्धान्ततर्फ डोराइरहेको आरोप लगाएको छ । आफ्नो सम्पादकीयमा ताइवानलाई चीनबाट अलग गर्न खोज्ने शक्तिहरुको भविष्य सुरक्षित नरहेको चेतावनी दिँदै ताइवान एकीकृत बनाउनबाट चीनलाई कसैले रोक्न नसक्ने बताएको छ ।




