काठमाडौँ, १९ असोज । हेटौंडामा बजार अनुगमनको क्रममा तीनवटा पसल सञ्चालक कारबाहीमा परेका छन् ।
संयुक्त बजार अनुगमन टोलीले बजार अनुगमनको क्रममा उपभोक्ता हित विपरीत काम गर्ने पसल सञ्चालकलाई कारबाही गरेको हो । तीन पसललाई कारबाही गरेर ४० हजार रुपैयाँ जरिवाना समेत असुल गरिएको र एउटा औषधि पसलमा तालाबन्दी गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।
नजिकिँदै गरेको दशैं, तिहार, छठ लगायत चाडपर्वलाई लक्षित गरेर मकवानपुरमा असोज ११ गतेदेखि नै सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वको बजार अनुगमन टोलीले बजार अनुगमन गरिरहेको छ ।
अनुगमनका क्रममा व्यवसायीलाई मूल्यसूची प्रष्ट देखिने ठाउँमा राख्न, सरसफाइ गर्न, ग्राहकलाई बिल दिन, मास्क लगाउन तथा भीडभाड नगरी वस्तु तथा सेवा बिक्री गर्न सुझाव दिइएको उनले बताए ।




