दुई कोरियाको सम्बन्ध सुधारको बाटो खुल्यो, हटलाइन पुनः सुरु

`

     २०७८ आश्विन १८ गते ११:४४

काठमाडौँ, १८ असोज । उत्तर र दक्षिण कोरियाबीच सूचना आदानप्रदानको लागि हटलाइन पुनः शुरु भएको छ ।

यसअघि उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले आफूले दक्षिण कोरियासँगको हटलाइन पुनः शुरु गर्न चाहेको बताएका थिए ।

सोमबार दक्षिण कोरियाको एकता मन्त्रालयले दुवै कोरियाका अधिकारीहरुले अगष्टपछि पहिलोपटक वार्ता गरेको जानकारी दिएको छ । मन्त्रालयले हटलाइन शुरु भएसँगै दुई कोरियाको सम्बन्धमा सुधारको बाटो खुलेको बताएको छ । यसअघि पनि धेरैपटक यी दुई मुलुकबीचको हटलाइन बन्द भइसकेको छ ।

गत वर्ष उत्तर र दक्षिण कोरियाली शिखर सम्मेलन असफल भएसँगै उत्तर कोरियाले हटलाइनको लागि खोलेको कार्यालय नै विस्फोट गरिदिएको थियो । गत अगष्टमा केही समयको लागि हटलाइन शुरु भएपनि दक्षिण कोरियाको अमेरिकासँगको सैन्य अभ्यासलाई कारण देखाउँदै उत्तर कोरियाले हटलाइन पुनः बन्द गरेको थियो ।

उत्तर र दक्षिण कोरियाबीचको युद्ध सन् १९५३ मा सकिएको भएपनि अझैसम्म पनि कुनै शान्ति सम्झौता नभएका कारण दुई मुलुक अझै पनि प्राविधिक रुपमा युद्धमै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?