काठमाडौँ, १५ असोज । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा २०७४ मा सरकार गठन भएसँगै पुष्पकमल दाहाल र माधवकुमार नेपालले कमजोर बनाउने काम गरेको आरोप लगाएका छन् ।
त्यस्तै उनले एकतालाई असन्तुलित बनाउन माधव नेपाललगायतका नेताहरू दाहालसँग लागेको पनि राजनीतिक प्रतिवेदनमा उल्लेख गरेका छन् ।
संसदको प्रतिकूलताका कारण आफू नेतृत्वको सरकार कमजोर भएको उल्लेख गर्दै अध्यक्ष ओलीले पार्टी भित्रैबाट सरकारलाई कमजोर बनाउने, सरकारका कामको प्रशंसा नगर्ने, उद्योगीलाई हतोत्साहित गर्ने र विदेशसँगको सम्बन्ध कमजोर बनाउने खेल भएको बताए ।
त्यस्तै ओलीले आफ्नो प्रतिवेदनमा दाहालले पार्टीको कार्यकारी अध्यक्षको जिम्मेवारी प्राप्त गरेपछि आफ्नो निवासलाई ‘हेडक्वाटर’ बनाएको पनि उल्लेख गरेका छन् ।




