महिलाको मुद्दालाई कसरी सम्बोधन गर्ने, तालिबानले हामीबाट सिक्नुपर्छ : कतार

`

     २०७८ आश्विन १५ गते १०:२०

काठमाडौँ, १५ असोज । तालिबानलाई खुल्ला मनले समर्थन गर्ने देश कतार हाल यो संगठनसँग निकै रिसाएको छ । उनले यदि तालिबानले साँच्चै नै एक इस्लामिक सिस्टममार्फत् देश चलाउन चाहेको भए तालिबानले कतारबाट सिक्नुपर्ने समेत बताएका छन् ।

कतारका विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानीले एक पत्रकार सम्मेलनमा युरोपेली विदेश नीति प्रमुख बोरेलसँग कुराकानी गरे र थुप्रै मुद्दासहित अफगानिस्तानमा महिलाको शिक्षामाथि रोकलाई निराशाजनक बताए । उनले भने, ‘हालै अफगानिस्तानमा जुन प्रकारको कदम उठाइएको छ, जसले अफगानिस्तानलाई विकासको बाटोमा निकै पछाडि धकेलिन सक्छ । यो निकै दुर्भाग्यपूर्ण हो । ’

‘महिलाको मुद्दालाई कसरी सम्बोधन गर्ने, तालिबानले यो कुरा हामीबाट सिक्नुपर्छ ’

शेख मोहम्मदले थपे, ‘हामीले लगातार तालिबानसँग कुरा गर्न आवश्यक छ र उनीहरुलाई आग्रह गर्न आवश्यक छ । उनीहरुलाई विवादित क्रियाकलापबाट टाढै बस्न आग्रह गर्न आवश्यक छ । हामी तालिबानलाई एक इस्लामिक देश भएर कसरी कानून चलाउन सकिन्छ र कसरी महिलाको मुद्दालाई सम्बोधन गर्न सकिन्छ भनेर देखाउने कोसिस गरिरहेका छौं । एउटा उदाहरण कतार हो । यो एउटा मुस्लिम देश हो । हाम्रो सिस्टम इस्लामिक सिस्टम हो तर जब कर्मचारी वा शिक्षाको कुरा आउँछ तब कतारमा पुरुषको तुलनामा महिला धेरै पाइन्छ ।’

शेख मोहम्मदले आशा जताउँदै भने, ‘पछिल्ला वर्षमा अफगानिस्तानमा जे जति प्रगति भएको छ, त्यसलाई कायम राख्नेछन् । ’ उनले अन्तरराष्ट्रिय समुदायसँग संवेदनशील स्थितिबाट गुज्रिरहेको अफगानिस्तानलाई एक्लो नबनाउन पनि अपिल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?