काठमाडौँ, १४ असोज । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले माधवकुमार नेपाललाई सहयोग गर्नकै लागि सरकारले दलसम्बन्धी अध्यादेश ल्याएको बताएका छन् ।
बिहीबार पोखरामा आयोजित जसपाको संगठन सुदृढीकरण तथा जनजागरण अभियानलाई सम्बोधन गर्दै उनले माधव नेपाललाई दल विभाजन गर्न जरुरी रहेकाले अध्यादेश ल्याउनुपरेको बताएका हुन् । ‘अब छिट्टै सरकार विस्तार हुन्छ’, उनले भने, ‘पाँच दलीय गठबन्धनको सरकार केपी ओलीको असंवैधानिक प्रवृत्तिविरुद्ध हो । प्रदेश सरकारमा पनि सहभागी भएका हामी संघमा पनि सहभागी हुनेछौं ।’
उनले घुमाउरो पारामा नेपालजस्तो गरिब मुलुकले एमसीसीको सहयोग लिनुपर्ने बताएका थिए ।‘भारत पनि हाम्रो छिमेकी हो, खुला सिमाना छ । कयौं नेपाली ओहोरदोहोर गरेका छन् । सम्बन्ध बिगार्नु हुँदैन’, उनले भने, ‘चीन पनि हाम्रो छिमेकी देश हो । हामीलाई सधैं चाहिन्छ । यी दुवैसँगको सम्बन्ध कायम राख्दै अमेरिकाजस्तो शक्तिशाली देशसँग पनि सम्बन्ध चिडाउन हुँदैन । हामीजस्तो गरिब देशले शक्तिशाली ठूला देशसँग नजिस्काउने र सन्तुलित सम्बन्ध राखेर सहयोग लिनुपर्छ ।’
आगामी वैशाख या जेठमा चुनाव हुने सम्भावना बढी रहेको जनाउँदै उनले आफ्ना कार्यकर्तालाई जनतासँग नजिकिन निर्देशन दिए । ‘हामी वैकल्पिक शक्तिको रुपमा स्थापित भएका छौं’, उनले भने, ‘हाम्रो नीति, विचार राम्रो छ । तर, कार्यान्वयन गर्न सरकारमा नै हुनुपर्छ । संघीयतामा केन्द्रीयमुखी कार्यक्रमभन्दा पनि प्रदेश र स्थानीय तहले वडास्तरसम्मै आफै कार्यक्रम राख्ने र पार्टी संगठित गर्नुपर्छ । आगामी निर्वाचनमा बहुमत ल्याएर सरकारमा सहभागी हुन सकेमात्र हाम्रा योजना कार्यान्वयन हुन्छन् ।’




