प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अख्तियारको छापा, साइकल खरिदमा अनियमितताको उजुरी
काठमाडौँ, १३ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेर कागजात नियन्त्रणमा लिएको छ ।
छात्रालाई बाँड्न किनेको साइकलमा अनियमितता भएको पाइएपछि अख्तियारको टोलीले कार्यालयमा छापा मारेको हो । प्रदेश २ को मुख्यमन्त्री ‘बेटी पढाउ बेटी वचाउ’ अभियान अन्तर्गतको साइकल वितरणमा भएको खर्च विवरण सम्वन्धि फाइल अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोग बर्दिवासका उपसचिव मेघनाथ रिमालले जानकारी दिए ।
साइकल खरिदमा अनियमितता भएको उजुरी आएको र सोही अनुसार छानबिनमा लागेको उनले बताए । उनले नियन्त्रणमा लिएका कागजातहरु अध्ययन गरेर थप बिषय सार्वजनिक गर्ने बताए ।
प्रदेश सरकारको महत्वाकांक्षी योजना मध्ये एक बेटी पढाउ बेटी बचाउ अन्तर्गत साइकल खरिदमा व्यापक अनियमीतता भएको आरोप मुख्यमन्त्री कार्यालयलाई छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले दुई चरणमा गरी २७ हजार २ सय ६२ थान साइकल खरिद गरेको थियो ।




