काठमाडौँ, ८ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालले कोभिड–१९ सँग जुध्नका स्वास्थ्य सामग्री आपूर्तिलाई उच्च प्राथमिकतामा राखेको बताएका छन् ।
संयुक्तराज्य अमेरिकाका राष्ट्रपति जो वाइडेनले आज आयोजना गरेको, ‘ग्लोबल कोभिड–१९ समिट’ मा प्रधानमन्त्री देउवाले भर्चुअल माध्यमबाट सम्बोधन गर्दै नेपालले कोभिड–१९ विरुद्धको खोपका लागि गरेका प्रयासबारे जानकारी गराएका हुन् ।
उक्त सम्मेलन आयोजना गरेकामा राष्ट्रपति वाइडेनलाई धन्यवाद दिँदै उहाँले नेपालले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि परीक्षणको दायरा बढाउँदै कोरोना भाइरसको अनुवांशिक परीक्षणकोसमेत विकास गरेको उल्लेख गरे ।
“हामीले कोभिड–१९ बाट सुरक्षित रहनका लागि जनस्वास्थ्यका क्षेत्रमा सचेतना फैलाउने कामलाई प्राथमिकता दिएका छौँ”, उनले भने । प्रधानमन्त्री देउवाले आगामी चैतसम्म लक्षित सबै नागरिकलाई खोपको पूर्ण मात्रा लगाउने सुनिश्चितता पनि भइसकेको उनको भनाइ छ ।




