प्रदेश १ मा महिला र दलित नेतृत्व स्थापित गर्ने सवालमा नेपाली काँग्रेस कमजोर, वडा नेतृत्वमा महिला र दलितको उपस्थिति शून्य झैँ

`

     २०७८ भाद्र ३० गते ६:३९

काठमाडौँ, ३० भदौ । प्रदेश १ मा महिला र दलित नेतृत्व स्थापित गर्ने सवालमा नेपाली काँग्रेस कमजोर देखिएको छ । प्रदेश १ का १३ जिल्लामा भर्खरै सम्पन्न काँग्रेसको वडा अधिवेशन र तिनले चयन गरेका नेतृत्वमा प्रदेशभरि जम्मा ४ जनामात्रै महिला चुनिएको छ भने दलित समुदायबाट २ जना वडा सभापति चयन भएका छन् ।

प्रदेश १ का १३ जिल्लाका ९९८ वटा वडामा छानिएका काँग्रेस सभापतिमध्ये भोजपुरमा २ जना, उदयपुर र ओखलढुंगामा १÷१ जना महिला सभापतिमा चयन भएका छन् । झापा र सोलुखुम्बुमा एक÷एक जना दलितले वडाको नेतृत्व गर्ने अवसर पाएका छन् ।

प्रदेश १ का १४ जिल्लामा एक हजार १५७ वटा वडा छन् । मोरङबाहेक १३ जिल्लामा पार्टीको वडा अधिवेशनले सभापतिसहितको समिति चयन गरिसकेको छ । मोरङका १ सय ३७ वटा वडामा अधिवेशन हुन बाँकी छ ।

झापामा १३१ वटा वडा रहेकामा सबै वडामा सभापतिसहित नेतृत्व चयन भइसकेको छ । त्यसमध्ये अर्जुनधारा नगरको ४ नम्बर वडामा ध्रुव खाती दलित समुदायबाट सभापतिमा चुनिएका हुन् ।

१२४ वटा वडा भएको सुनसरीमा कुनै पनि वडामा दलित र महिलाले सभापति पदमा अवसर पाएनन् ।

५ हजार ५ सय क्रियाशील सदस्य रहेको ताप्लेजुङमा २० प्रतिशत सदस्य महिला छन् । तीमध्ये कोही पनि वडाको नेतृत्वमा आउन नसकेको जिल्ला सभापति लीलादेवी बोखिमले बताइन् । उनले ६१ वटा वडामध्ये सबैमा पुरुष र गैरदलित मात्रै चुनिएको बताइन् ।

६० वटा वडा भएको पाँचथरको अवस्था पनि उस्तै छ । पाँचथरमा वडा सभापतिमा उपल्ला जातका क्षेत्री, बाहुनका अतिरिक्त जनजातिबाट राई, लिम्बुमात्र चयन भएका छन् भने लैंगिक हिसाबले महिलाको प्रतिनिधित्व शून्य छ ।

८१ वटा वडा रहेको इलाममा र ७६ वटा वडा रहेको संखुवासभामा पनि वडा सभापतिमा चुनिने महिला र दलितको संख्या शून्य छ ।

यता,८१ वडा भएको भोजपुरमा दुई जना महिलाले वडा सभापतिको जिम्मेवारी पाएका छन् । षडानन्द नगरपालिका वडा नम्बर ६ बाट निर्मला लम्साल र र ११ मा अनिता राई सभापतिमा निर्विरोध चयन भएका हुन् ।

६० वटा वडा रहेको धनकुटामा महिला र दलित नेतृत्व शून्य छ भने ४३ वटा वडा भएको तेह्रथुममा पनि उस्तै अवस्था छ । ५२ वडा भएको सोलुखुम्बुमा सोलुदूधकुण्ड नगरको ४ नम्बर वडामा दलित समुदायका रामबहादुर बराइली वडा सभापतिमा चुनिएका छन् ।

७९ वडा भएको खोटाङमा पनि महिला र दलित समुदायबाट काँग्रेसको वडा सभापति चुनिएनन् । उदयपुरका ७५ वडामध्ये चौदण्डीगढी–७ मा पार्वती तिमिल्सिना वडा सभापतिमा चयन भएकी छन् ।
ओखलढुंगाका ७५ मध्ये एउटा वडामा महिला सभापति चुनिएकी छन् । सुनकोसी गाउँपालिका ७ मा सपना खत्री सभापति चुनिएकी हुन् । अन्य वडाहरुमा महिला र दलितले सभापति पदमा अवसर नै पाएनन् ।

संविधानले ३३ प्रतिशत महिलासहित दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम, खसआर्य, थारू र पिछडिएको समुदायबाट अनिवार्य सहभागिताको व्यवस्था गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?