काठमाडौँ, २० भदौ । इन्टरनेट नभएपछि म्याग्दीमा सार्वजनिक निकाय र बैंकको सेवा ठप्प भएको छ ।
पर्वतमा पहिराले इन्टरनेटको फाइबर चुँडाएपछि म्याग्दीमा सरकारी कार्यालय, बैंक, वित्तीय र सहकारी संस्थाको सेवा ठप्प बनेको हो ।
चेक, विद्युतीय माध्यम र एटिएममार्फत हुने भुक्तानी, बचतको काम नहुँदा सर्वसाधारण, व्यवसायीलाई आर्थिक कारोवारमा समस्या भएको छ । जिल्ला प्रशासन, मालपोतलगायत अन्य सरकारी कार्यालयको सेवा पनि सर्वरको समस्याका कारण ठप्प भएको कर्मचारीले बताएका छन् ।
सरकारी स्वामित्वको नेपाल टेलिकम र निजी क्षेत्रको इन्टरनेट सेवा प्रदायक कम्पनीको फाइबर पहिराले चुँडाएकाले इन्टरनेटको सहायताले प्रदान गरिने सेवा ठप्प बनेको हो । म्याग्दीमा विभिन्न बैंकका ३० भन्दा बढी शाखा छन् ।




