काठमाडौं, १७ भदौ । अमेरिकाको न्युयोर्क शहरमा अहिलेसम्मकै सबैभन्दा ठूलो अविरल वर्षाका कारण डुबान भएको छ । शहरमा बाढी आएसँगै आपतकाल घोषणा गरिएको छ ।
न्युयोर्कका मेयर बिल डे ब्लासिओले अहिले शहरले ऐतिहासिक मौसमी घटनाको सामना गरिरहेको बताएका छन् । उनले अहिले न्युयोर्कमा ठूलो बाढी देखिएको र सडकहरु जोखिमपूर्ण अवस्थामा रहेको बताएका छन् ।
अविरल वर्षाका कारण न्युयोर्कको अधिकांश सबवे बन्द भएका छन् भने धेरै रेल सेवा र हवाई उडान पनि रद्द भएका छन् ।
हुरिकेन समुद्री आँधीका कारण न्युयोर्क, न्युजर्सीलगायतका क्षेत्रमा भारी वर्षा भएको हो । आइतबार सोही आँधीका कारण लोउसियानाका हजारौं घरमा बिजुली अवरुद्ध भएको थियो । अझै पनि धेरै घरमा विद्युत अवरुद्ध नै छ ।




