एजेन्सि, १३ भदौ । यमनको सबैभन्दा ठूलो सैन्य हवाइ अड्डामा आइतबार भएको हमलामा परी कम्तीमा ३० जना सरकार समर्थक लडाकूको मृत्यु तथा दर्जनौ घाइते भएको छ ।
उक्त हमलाका लागि इरानको निकट मानिने यमनी हुथी विद्रोहीलाई दोषी ठह¥याएको चिकित्सक तथा सरकार निकट उक्त लडाकू समूहले जानकारी गराएको छ ।
“आक्रमणमा ३० भन्दा बढी व्यक्ति मारिएका छन् र कम्तीमा ५६ जना घाइते भएका छन्,” यमनी सशस्त्र लडाकू समूहका प्रवक्ता मोहम्मद अल–नाकिबले घटनाको पुष्टि गर्दै भन्नुभयो । उनले आक्रमणमा हुथीहरूको हात रहेको दावी गरेका छन् ।
७ जनाको घटना स्थलमा मृत्यु भएको र अन्य २३ जनाको अस्पतालमा पुगेर उपचारका क्रममा मृत्यु भएको बताएका छन् । घाइतेमध्ये अझै केहीको स्वास्थ्य अवस्था गम्भीर रहेकोले मृतक सङ्ख्या बढ्नसक्ने बताए ।
हुथी समूहले यस घटनाबारे कुनै प्रतिक्रिया जनाइसकेको छैन ।




