एजेन्सि, ४ भदौ । इस्माइल साब्री याकोब मलेसियाको नयाँ प्रधानमन्त्री नियुक्त भएका छन् ।
युनाइटेड मलायस नेशनल अर्गनाइजेसनका नेता याकोबलाई मलेसियाका राजाले शुक्रबार प्रधानमन्त्रीमा नियुक्त गरेका छन् ।
यसअघि याकोबले मलेसियाको रक्षामन्त्रीको पद समेत सम्हालिसकेको छ ।
संसदमा बहुमत गुमाएपछि प्रधानमन्त्री मुहिद्धीन यासीनले गत सोमबार राजीनामा दिएका थिए ।
२०२० को मार्चमा प्रधानमन्त्री बनेका यासीनमाथि कोरोना भाइरस नियन्त्रणमा काम गर्न नसकेको भन्दै विपक्षी दलहरुले राजीनामाको दबाब बढाएका थिए । उनले संसदमा आफुलाई समर्थन गरेको दल युनाइटेड मलायस नेशनल अर्गनाइजेशनले समर्थन फिर्ता लिएपछि बहुमत समेत गुमाएका थिए ।
युनाइटेड मलायस नेशनल अर्गनाइजेशन मलेसियामा सबै भन्दा लामो समय सत्ता संचालन गरेको पार्टी हो ।
नव नियुक्त प्रधानमन्त्रीले शनिबार शपथलिने बताइएको छ भने उनले संसदमा विश्वासको मत लिन पर्ने छ ।




