काठमाडौँ, १७ साउन । चीन र जापान सरकारले अनुदानमार्फत् दिने भनेर घोषणा गरेको कोरोना खोप यहि हप्तामा नेपाल आउने भएको छ।
आइतबार गृह मन्त्रालयमा भएको छलफलमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले चीनबाट १६ लाख र जापानबाट १६ लाख खोप यही साताभित्र आउने जानकारी गराए।
केही समयअघि चीन र जापानले अनुदानस्वरुप नेपाललाई १६र१६ लाख डोज खोप दिने भनेका थिए।
चीनले यसअघि पनि नेपाललाई दुई चरणमा १८ लाख भेरोसेल खोप अनुदानमा दिएको थियो। त्यसबाहेक सरकारले चीनसँग ४० लाख डोज खोप पनि खरिद गरिसकेको छ। सोही खोप अहिले देशभर लगाइराखिएको छ। जापानले भने खोप पहिलोपटक दिन लागेको हो।
जापानले दिन लागेको खोप एन्ट्रेजेनेकाको हो। सरकारले उक्त खोप यसअघि कोभिसिल्डको पहिलो डोज लगाएर दोस्रो डोज लगाउन बाँकी रहेकालाई लगाउने तयारी गरेको छ।
राज्यमन्त्री श्रेष्ठले फाइजरको ४० लाख डोज खोप खरिद गर्नलाई आवश्यक तयारी पनि भइरहेको जनाए।
साथै संक्रमणको तेस्रो लहर आउने सक्ने भन्दै त्यसको तयारीमा अहिलेदेखि नै जुट्नुपर्ने उनको भनाइ छ।




