काठमाडौं, १४ साउन । भित्री सूचनाको आधारमा सेयर कारोबारको आरोप लागेपछि नेपाल धितोपत्र बोर्डलाई अर्थ मन्त्रालयले स्पष्टीकरण सोधेको छ । बोर्डका अध्यक्ष भिष्मराज ढुगानाकी छोरीको नाममा सर्वोत्तम सिमेन्टकोसेयर रहेको फेला परेपछि यस्तो स्पष्टीकरण सोधेको हो ।
बुक बिल्डिङमार्फत नेपालमै पहिलो चोटी सर्वोत्तमले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारी गरिरहेको बेला अध्यक्ष ढुंगानाकी छोरी रेबिका ढुंगानाको नाममा सर्वोत्तमको लगभग १२ हजार कित्ता सेयर नामसारी भएको पाइएको थियो ।
यस्तो अनैतिक कामको साथै पदको दुरुपयोग गरेको समाचार प्रकाशन भएपछि सो समाचारका विषयमा स्पष्ट पार्न ३ दिनको समय दिएर स्पष्टीकरण सोधेको हो ।
मन्त्रालयले विषयवस्तुको सम्बन्धमा सत्थ, तथ्य यथार्थता के हो, सो को स्पष्ट र तथ्यपरक विवरण मन्त्रालयमा बुझाउन भनेको हो । मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले यस्तो जानकारी गराएको छ ।




