काठमाडौँ, ३ साउन । आइतबार सेयर बजारको परिसूचक नेप्से लगभग १ सय अंकले बढेको छ। ९७. २ अंकले बजार बढेर २९८० अंक कायम भएको छ।
यस दिन कारोबार रकममा पनि वृद्धि भएको छ। ११ अर्ब ६३ करोड रुपैयाँको सेयर किनबेच भएको छ। सबै समूहहरु बढेका छन्।
समूहगत रुपमा हेर्दा बैंकिङ ९२, ब्यापार ३३, होटल तथा पर्यटन ५८, विकास बैंक २३३, जलविद्युत ४५, फाइनान्स ३५, निर्जीवन बीमा ४४१, उत्पादन १६५, अन्य १९, माइक्रोफाइनान्स १९० र जीवन बीमा ६४८ अंकले बढेका छन्। यस दिन सिन्धु विकास बैंक, सिंगटी हाइड्रोपावर, ङादी ग्रुप, समृद्धि फाइनान्स र हिमालय पावर पार्टनरका सेयर लगानीकर्ताले १० प्रतिशत मूल्य कमाए।
त्यस्तै सिद्धार्थ बैंकको मूल्य ८ प्रतिशतले बढेको छ। महालक्ष्मी विकास बैंक, एक्सल डेभलपमेन्ट बैंक र पाँचथर पावरको मूल्य साढे ७ प्रतिशतभन्दा धेरैले बढ्यो। घट्ने कम्पनीको मूल्य गिरावट दर भने २ प्रतिशतमुनि रह्यो।
मल्टिपर्पोज फाइनान्सको १.७७ तथा रिडी हाइड्रोपावरको १.३९ प्रतिशतले मूल्य घटेको छ। अरुण भ्याली, नारायणी डेभलपमेन्ट र माथिल्लो तामाकोसीको मूल्य पनि घटेको छ।
यस दिन मञ्जुश्री फाइनान्सको सबैभन्दा धेरै ४० करोड रुपैयाँ बराबरको सेयर किनबेच हुँदा नबिल बैंकको ३८ करोडको कारोबार भयो। त्यस्तै अरुण भ्याली, एनआइसी एसिया बैंक र कामना सेवा विकास बैंक पनि कारोबारका आधारमा अगाडि रहे।
प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने तयारी गरिरहँदा बजारमा ठूलो अंकको वृद्धि देखिएको छ।




