काठमाडौँ, २० असार । नेपाल प्रहरीमा चार जना डिआइजी थप्ने तयारी गरिएको छ ।
प्रहरी प्रधान कार्यालयले डिआइजी नहुँदा ‘चेन अफ कमान्ड’ र कार्यसम्पादनमा असर परेको गुनासो गरेपछि दरबन्दी थप्ने तयारी गरिएको हो । तर, सरकारले यसका लागि आवश्यक कानुनी गृहकार्य भने गरेको छैन ।
गत वर्ष मात्रै सरकारले २६ डिआइजीको दरबन्दी कटौती गरेर १४ मा झारेको थियो । प्रहरी प्रधान कार्यालयको असन्तुष्टिपछि पाँच डिआइजीको दरबन्दी थपेर १९ पुर्याइएको थियो ।
नेपाल प्रहरीमा हाल जनपदतर्फ चार र अस्पतालमा एक जना एआईजी कार्यरत छन् । गत साता मात्रै प्रहरीमा एक जना एआईजीको दरबन्दी थप गरिएको छ । जसमा बढुवा समितिले सहकुल बहादुर थापाको नाम सिफारिस गरेको छ ।
हाल सात वटा प्रदेशको नेतृत्व डिआइजीले गर्दै आएका छन् । यसबाहेक उपत्यका प्रहरी कार्यालय, महानिरीक्षकको सचिवालय, साइबर ब्युरो, विशेष ब्युरो, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), प्रहरी एकेडेमी, अन्वेषण योजना निर्देशनालय, प्रबन्ध निर्देशनालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतमा डिआइजी कार्यरत छन् ।
यसअघि, महानगरीय ट्राफिक प्रहरी महाशाखा, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, लागु औषध नियन्त्रण ब्युरो, यजुनिर प्रहरी शिक्षालय भरतपुरमा डीआईजीकै दरबन्दी थियो । सरकारले डिआइजीको सङ्ख्या बढाएपछि ती स्थानमा डिआइजीको कमान्ड तोक्ने तयारी छ । यसका लागि प्रधानमन्त्री समेत सकारात्मक भएको बताइएको छ ।
सरकारले चार डिआइजीको दरबन्दी स्वीकृत गरे नेपाल प्रहरीमा २३ जना डिआइजी हुनेछन् । प्राविधिकतर्फको दरबन्दी भने छुट्टै छ । चार जना थप भए नेपाल प्रहरीमा डिआइजी बढुवा सिफारिस भएका थापाको स्थानमा एक जना थपिएर पाँच जनाले डिआइजी बन्ने अवसर प्राप्त गर्ने छन् ।
थपिने डिआइजीमा सिनियर र जुनियर ब्याचका २० जना बढी दाबेदार छन् । जसमा सिनियर ब्याचबाट शौरभ राणा, सुशील कुमार यादव, नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य, राजेन्द्रप्रसाद चौधरी, हरिराज वाग्ले, पूजा सिंह, विक्रमबहादुर चन्द, नरबहादुर खत्री, मसाउद आलम खाँ, शेखर कोइरालालगायत छन् ।
यसबाहेक जुनयर ब्याचका एसएसपीहरू सन्दीप भण्डारी, टेकप्रसाद राई, वसन्तबहादुर कुँवर, उमेशराज जोशी, श्यामलाल ज्ञवाली, दीपक थापा, भीमप्रसाद ढकाल, किरण बज्राचार्य, टेकबहादुर तामाङ, रामदत्त जोशी, मीरा चौधरी, पोषराज पोखरेललगायत डिआइजीको प्रतिस्पर्धामा हुनेछन् ।
स्रोतका अनुसार दुई जना सिनियर र दुई जना जुनयर ब्याचका एसएसपी डिआइजी बन्ने सम्भावना बढी छ । एकै ब्याचबाट एक जना मात्रै गर्दा आइजिपीमा प्रतिस्पर्धा नहुने भएकाले कम्तीमा दुई जना एक ब्याचबाट अगाडि बढाउनुपर्ने तर्क प्रहरीमा उठ्दै आएको छ ।
तर, अन्तिममा भने प्रधानमन्त्री र गृहमन्त्रीकै रोजाइका व्यक्तिले डिआइजी बन्ने अवसर प्राप्त गर्ने प्रहरी इतिहास छ ।




