मकवानपुर, १७ जेठ । वाग्मती प्रदेश सरकारले मदन भण्डारी फाउन्डेसनलाई उपलब्ध गराएको ५० लाख रुपैयाँ फिर्ता लिने भएको छ ।
मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशसभाको आठौँ अधिवेशन सुरुवातको शुभकामना दिने क्रममा सम्बोधन गर्दै फिर्ता लिने उक्त निर्णय जानकारी गराएका हुन् ।
मदन भण्डारी फाउन्डेसनलाई आर्थिक कार्यविधि र ऐनबिनै रकम उपलब्ध गराएको भन्दै प्रतिपक्षी दलहरुले व्यापक विरोध गरेपश्चात् प्रदेश सरकार उक्त निर्णयबाट पछाडि हट्न बाध्य भएको हो ।
मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले विद्युतीय बस सञ्चालनको सम्पूर्ण तयारी पूरा गरिसकेको, आवश्यक भौतिक पूर्वाधार निर्माण अगाडि बढेको विषयमा सदनलाई तथ्यगत रुपमा जानकारी गराउने प्रतिबद्धता समेत जनाएका छन् ।
मदन भण्डारी फाउन्डेसनलाई उपलब्ध गराइएको बजेट र विद्युतीय बस सञ्चालनको विषयलाई लिएर वाग्मती प्रदेशका विपक्षी दलहरुले मोर्चाबन्दी गर्दै लगातार सदन अवरुद्ध गरिरहेको थियो ।
कानुनी व्यवस्था अनुसार तोकिएको समयमा प्रिबजेट, नीति तथा कार्यक्रम र पूर्णबजेट सदनबाट ल्याउनुपर्ने भएका कारण सरकार केही लचक भएर विपक्षी दलको माग सम्बोधन गरेको हो ।




