बाँके, ९ जेठ। बाँकेमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेको यो संख्या शनिबार दिउँसो ४ बजेदेखि आइतबार बिहान ६ बजेसम्मको हो ।
बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार कैलालीका चार, दाङका दुई, बर्दिया र सल्यानका एक/एक जना गरी आठ जना संक्रमितको मृत्यु भएको हो ।
कैलालीको जानकी गाउँपालिका–९ की ७५ वर्षीया महिला, कैलालीकै टिकापुर नगरपालिका–१ का ६० वर्षीय पुरुष, टिकापुर–७ का ३५ वर्षीय पुरुष र लम्की चुहा नगरपालिका–६ की ३३ वर्षीया महिलाको मृत्यु भएको हो ।
७५ वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा शनिबार साँझ मृत्यु भएको हो । उनीमा जेठ ३ गते संक्रमण पुष्टि भएको थियो ।
६० वर्षीय वर्षीय पुरुष, ३५ वर्षीय पुरुष र ३३ वर्षीया महिलाको भेरी अस्पतालमा शनिबार नै मृत्यु भएको हो । ६० वर्षीय वर्षीय पुरुषमा वैशाख १० गते, ३५ वर्षीय पुरुषमा वैशाख १७ गते र ३३ वर्षीया महिलामा वैशाख २८ गते संक्रमण पुष्टि भएको थियो ।
दाङको बबइ गाउँपालिका–२ का ९२ वर्षीय पुरुष र तुलसीपुर उपमहानगरपालिका–१ की ४५ वर्षीया महिलाको भेरी अस्पतालमा मृत्यु भएको ओलीले बताए । ९२ वर्षीय पुरुषमा वैशाख ३१ गते र ४५ वर्षीया महिलामा जेठ ४ गते संक्रमण पुष्टि भएको थियो ।
बर्दियाको ठाकुरबाबा नगरपालिका–७ का ३८ वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको हो । उनीमा वैशाख ३१ गते संक्रमण पुष्टि भएको थियो ।
यसैगरी सल्यानको शारदा नगरपालिका–१ का ५० वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा आइतबार बहान ६ बजे मृत्यु भएको हो । उनीमा जेठ ४ गते संक्रमण पुष्टि भएको थियो ।




