काठमाडौँ, ५ जेठ । निर्वाचन आयोगले बिहीबार हुन लागेको बागमती प्रदेशमा रिक्त रहेको राष्ट्रियसभा उपनिर्वाचन लागि मौन अवधि सुरु भइसकेपछि पनि आचार संहिता विपरीत वक्तब्य दिने, प्रेस विज्ञप्ति निकाल्ने, प्रकाशन तथा प्रसारण गर्ने कार्य भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
बुधबारमात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको तर्फका उम्मेदवार रामबहादुर थापा बादलको पक्षमा मत माग्दै अपील जारी गरेका थिए भने मौनअवधिमा उम्मेदवारकै दौडधूप समेत बढेको थियो ।
निर्वाचनको सिलसिलामा राजनीतिक दल, सार्वजनिक निकाय तथा सञ्चार माध्यम लगायतले पालना गर्नुपर्ने आचार संहिता समेत लागू भइसकेको सन्दर्भमा आचार संहिता विपरितका यस्ता क्रियाकलापले निर्वाचनको स्वच्छता र विश्वसनीयता प्रति नै आघात पार्ने आयोगले बुधबार एक विज्ञप्तिमार्फत उल्लेख गरेको छ ।
आयोगले निर्वाचन आचार संहिता कडाइका साथ लागू गर्न नसक्ने भनी आलोचना पनि गर्ने र अर्कोतर्फ आपैm आचार संहिता विपरीतका गतिविधिमा संलग्न हुनु कुनै पनि दृष्टिकोणबाट स्वीकार्य हुन नसक्ने आयोगले जनाएको छ ।
आयोगले निर्वाचन आचार संहिता विपरितका कार्य गर्ने व्यक्ति वा संस्थालाई कानून बमोजिम कारवाही गर्न सक्ने कुरा प्रष्ट गर्दै यसरी आचार संहिता विपरीत कार्य गर्नेको अभिलेख राख्ने राखिएको जनाएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख गरीएको छ ।




