रुपन्देही, २४ वैशाख । रुपन्देहीको रोहिणी गाउँपालिकामा कोरोनाका कारण २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रोहिणी–२ का ६० वर्षीय पुरुष र २२ वर्षीय पुरुष रहेका छन् ।
स्वास्थ्यमा समस्या भएपछि बिहीबार भैरहवास्थित एक निजी अस्पतालमा पीसीआर जाँच गराउंँदा पोजेटिभ आएपछि आइसोलेसनमा ल्याइएका २२ वर्षीय पुरुषको राति ९ बजे मृत्यु भएको अस्पतालका मेडिकल अफिसर डा. उमेश गुप्ताले जानकारी दिए ।
त्यस्तै, ६० वर्षीय पुरुष भने विगत एक सातादेखि होम आइसोलेसनमा बसेको र अक्सिजनको समस्या भएपछि आइसोलेसन अस्पतालमा ल्याइ उपचार गर्दा राति ११ बजे मृत्यु भएको हो ।
डा. गुप्ताले भने, ‘दुवैको अक्सिजन स्याचुरेसन ४० र ५० को बीच थियो । आईसियु व्यवस्थापन गरी लैजानुपर्छ भनी परिवारलाई सुझायौँ, आइसियु नपाएपछि अस्पतालमै ज्यान गयो ।’
अस्पतालमा उपलब्ध सबैभन्दा धेरै लिटरको अक्सिजनमा राख्दा समेत लेभल नबढेपछि आईसियु सहितका अस्पतालमा बेड खोजी गरेको र नपाएको अवस्थामा दुवै बिरामीले ज्यान गुमाएको भन्दै उनले अन्तिम अवस्था भएका बिरामीलाई अस्थायी आइसोलेसन अस्पतालको उपचारले निको हुने सम्भावना कम रहने बताएको छ।




