काठमाडौँ, २१ वैशाख। काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञालाई वैशाख २९ गतेसम्म लम्ब्याउने निर्णय भएको छ । मङ्गलवार उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले यस्तो निर्णय गरेका हुन् ।
आइतबार मन्त्रिपरिषद् बैठकले १५ दिन थप निषेधाज्ञा जारी गर्न प्रशासनलाई निर्देशन दिएको थियो । निषेधाज्ञालाई कडाइ र कोरोना महामारी नियन्त्रण गर्न काठमाडौँ, ललितपुर र भक्तपुर प्रशासनले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्ने काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।
यसअघि जारी भएको पहिलो चरणको निषेधाज्ञा भोलि २२ गते राति १२ बजे सकिँदै छ । यो समयमा उपत्यका छाड्नेलाई सहजीकरण गर्ने पराजुलीले बताए ।
पसल बिहान ९ बजेसम्म मात्रै खोल्न पाइनेछ । बेलुका पूर्ण रुपमा बन्द गरिनेछ । नागरिकलाई अत्यावश्यक कामबाहेक बाहिर निस्कनेलाई कडाई गरिने भएको छ ।
पराजुलीका अनुसार बैंक तथा वित्तिय संस्थामा केन्द्रीय कार्यालयको हकमा २० प्रतिशत कर्मचारी र शाखामा २५ प्रतिशत कर्मचारी राखेर सञ्चालन गर्न पाइनेछ ।
सरकारी कार्यालय, मन्त्रालय र विभागमा ४० प्रतिशत कर्मचारीबाट सेवा प्रवाह गरिने भएको छ ।




