पोखरा, १३ वैशाख। गण्डकी प्रदेश सभाको विशेष अधिवेशन आज दिउँसो २ बजे बस्ने भएको छ । बैठकमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरूद्धको अविश्वास प्रस्ताव टेबुल हुने भएको छ ।
आफुविरुद्ध अविश्वास प्रस्ताव आएपछि मुख्यमन्त्री गुरुङले वैशाख १ गते संसदको चालु अधिवेशनै अन्त्य गरेका थिए ।
प्रदेश सभा अन्त्य भएपछि नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीसहितले प्रदेश प्रमुख समक्ष विशेष अधिवेशनको माग गर्दै निवेदन दिएका पछि आजको लागि विशेष अधिवेशन आव्हान भएको हो ।
अविश्वास प्रस्ताव टेबल भएपछि सबै दलका नेताले आफ्ना धारणा राख्ने र भोलि मुख्यमन्त्रीले जवाफ दिने कार्यसूची छ ।
मुख्यमन्त्रीको जवाफपछि मंगलबारै अविश्वास प्रस्ताव निर्णयार्थ मतदान हुने तयारी प्रदेश सभा सचिवालयको रहेको छ ।
६० सदस्यीय गण्डकी प्रदेश सभामा अविश्वास प्रस्ताव पास हुन ३१ मत आवश्यक हुन्छ । मुख्यमन्त्री गुरुङको पक्षमा एमालेका २७, स्वतन्त्र सांसद एक गरि २८ सांसद मात्र रहेकाले उनको सरकार ढल्ने देखिएको छ ।
काँग्रेस, माओवादी केन्द्र र जसपाले काँग्रेसका प्रदेश सभा नेता कृष्णचन्द्र नेपाली पोख्रेललाई मुख्यमन्त्रीको नयाँ उम्मेदवार बनाउदै अविश्वास प्रस्ताव दर्ता गरेका हुन् ।




