मकवानपुर, ९ वैशाख। मकवानपुरमा पछिल्लो समय कोरोना संक्रमितको संख्या तिब्र रुपमा बढ्दै गएको छ ।
मकवानपुरमा बिहिबार एकजना भारतीय नागरिकसहित २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५२ जनाको स्वाबको नमुना परीक्षण गर्दा जिल्लाका विभिन्न स्थानका र बाहिरी जिल्लाका २९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा आज सक्रिय संक्रमितको संख्या ९८ जना पुगेको छ ।
कोरोना संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका २२ जना, भीमफेदी गाउँपालिका वडा नम्बर–४ का २ जना र मनहरी गाउँपालिका वडा नम्बर–३ का २ जना र बाहिरी जिल्लाका ४ जना रहेका छन् ।
बाहिरी जिल्ला घर भएका तर हाल कामको शिलशिलामा हेटौंडा बस्दै आएका ४ जनामध्ये बाराका २ जना र नुवाकोटका एक जना रहेका छन् ।
संक्रमण पुष्टि हुनेमा अर्का एक व्यक्ति भने भारतीय नागरिक रहेका छन् । मकवानपुरमा बुधबार मात्र २ जना बालकसहित २५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
मकवानपुरमा हालसम्म ४ हजार जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ भने कोरोना संक्रमणका कारण ३३ जना व्यक्तिको मृत्यु भइसकेको छ । त्यस्तै ३८६९ जना कोरोना संक्रमितहरु संक्रमणबाट मुक्त भएको जनाएको छ ।




