एजेन्सी, ७ वैशाख। केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा कोरोनाभाइरसबाट हालसम्म कुल सङ्क्रमितको सङ्ख्या १ करोड ५३ लाख जनाएको छ ।
मङ्गलबार मन्त्रालयले दिएको जानकारी अनुसार कोरोना शुरु भएयता भारतमा हालसम्म एक करोड ५३ लाख २१ हजार ८९ जना कोरोना सङ्क्रमित भएका छन् ।
भारतमा कोरोनाभाइरसबाट एकै दिनमा २ लाख ५९ हजार १ सय ७० सङ्क्रमित भएका छन् । त्यसैगरी सोही अवधिमा भारतमा १ हजार ७ सय ६१ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको मङ्गलबार जनाइएको छ ।
पछिल्लो विवरणसँगै भारतमा कोरोनाभाइरसबाट कुल मृतकको सङ्ख्या १लाख ८० हजार ५ सय ३० पुगेको जनाएको छ ।
भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या भने २० लाख ३१ हजार भन्दा बढी पुगेको अधिकारीले जानकारी दिएका छन् । योसँगै अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको कुल सङ्ख्या १ करोड ३१ लाख ८ हजार ५ सय ८२ पुगेका छन् ।
भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो सो समयबाट अहिलेसम्म भारतमा १२ करोड ७० भन्दा लाख व्यक्तिले खोप लगाएका छन् ।
भारतमा अहिले कोभिसिल्ड, कोभ्याक्सीन र स्पुट्नीक भी गरी तीन प्रकारका खोपको प्रयोग भइरहेको सरकारी निकायले जनाएका छन् । रुसले विकास गरेको स्पुटनिक भी भने यही अप्रिल १२ देखि मात्रै लगाउन थालिएको अधिकारीले जानकारी दिएका छन् ।
भारतमा सोमबार मात्रै १५ लाख १९ हजार ४ सय ८६ जनाको कोरोना परिक्षण गरिएको भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले जनाएको छ । अप्रिल २० सम्म कूल २६ करोड ९४ लाखभन्दा बढीले कोरोना परीक्षण गरिएको जनाएको छ ।
भारतको राष्ट्रिय राजधानी दिल्ली सबभन्दा धेरै कोरोना प्रभावित राज्यको रुपमा रहेको छ । दिल्लीमा आइतबार एकै दिनमा २५ हजार ५०० जना कोरोना भाइरस सङ्क्रमित भएका १६१ जनाको मृत्यु भएको छ । –सिन्ह्वा




