काठमाडौँ, ६ वैशाख। वि.सं. २०७२ सालको भूकम्पबाट पूर्ण रूपमा क्षतिग्रस्त भएको धरहराको लोकतन्त्र दिवसका दिन उद्घाटन हुने भएको छ ।
पुनर्निर्माण सम्पन्न भएको धरहराको यही वैशाख ११ गते अर्थात् लोकतन्त्र दिवसको दिन प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा उद्घाटन गरिने भएको छ ।
यसअघि आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिको रूपमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले पुनः निर्मित धरहराको अवलोकन गरेका थिए ।
त्यसै क्रममा मन्त्री श्रेष्ठले वैशाख १० गते भित्र धरहरा स्तम्भ भित्र गर्नुपर्ने सम्पूर्ण काम सम्पन्न गर्न निर्देशन समेत दिएका थिए ।
त्यस अवसरमा प्राधिकरणका प्राविधिक सल्लाहकार राजुमान मानन्धरले धरहरा स्तम्भको मुख्य निर्माण कार्य सम्पन्न भइसकेको जानकारी दिएं ।
फिनिसिङको काम बाँकी रहेको र अबको ५ दिन भित्रमा सबै सम्पन्न भइसक्ने उनले जानकारी दिएका थिए।
यतिबेला पुनःनिर्मित धरहरामा रङरोगन गर्ने, बत्ती जडान गर्ने लगायतका काम धमाधम भइरहेका छन ।
२ सय ४५ फिट उचाईको धरहरा स्तम्भको ९८ प्रतिशत काम सम्पन्न भइसकेको छ ।
धरहरामा धरहरा स्तम्भसँगै कार पार्किङ स्थल, उद्यान, म्युजियम लगायतका संरचनाहरु बन्नेछन् ।
पर्यटकीय स्थलका रुपमा विकास गर्नेगरी निर्माण गरिएको धरहरामा मिन्ट म्युजियम र अर्थ क्वेक म्युजियम पनि रहनेछन् ।
धरहरामा चढ्ने र ओर्लिने गरी दुईतर्फि लिफ्ट रहेका छन । धरहराको २०औं तलामा काठमाडौँ उपत्यकाको दृश्यावलोकन गर्नका लागि सिसाले घेरिएको भ्यु डेक बनाइएको छ ।




