काठमाडौँ,३१ चैत्र । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । पर्साका २ र बाराका १ जनाको मृत्यु भएको हो । पर्साको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचाररत वीरगन्ज महानगरपालिका वडा नम्बर–३ प्रगतिनगरका ६२ वर्षीय वृद्धको मङगलबार बिहान साढे ८ बजे मृत्यु भएको हो।
स्वास्थ्यमा समस्यासँगै कोरोनाको आशङ्का भएपछि उनलाई अस्पताल भर्ना भई प्रयोगशालामा त्यही दिन पीसीआर परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । एक महिनाअघि भारतको नयाँ दिल्लीमा छोरालाई भेट्न गएका उनी केही दिनअघि मात्रै नेपाल फर्किएका थिए ।
यस्तै, पर्साकै कालिकामाई गाउँपालिका वडा नम्बर २ का ५५ वर्षीय कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएको छ । चितवनको भरतपुर अस्पतालमा उपचारको क्रममा उनको सोमबार मृत्यु भएको हो ।
यस्तै बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर-९ का ३७ वर्षीय युवकको पनि कोरोनाका कारण मृत्यु भएको छ । वीरगन्जस्थित नारायणी अस्पतालमा उपचाररत रहेका उनको मङगलबार बिहान साढे ३ बजे मृत्यु भएको नारायणी अस्पतालका कोभिड कोर्डिनेटर डाक्टर सरोज रोशन दासले जानकारी दिए । उनी होलीभन्दा दुई दिनअघि भारतको हैदरावादबाट घर आएका थिए ।
स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि उनलाई चैत २६ गते वीरगन्जको एडभान्स हस्पिटलमा भर्ना गरिएको थियो । पीसीआर परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएपछि चैत ३० गते राति १ बजे नारायणी अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा उनको पनि मङगलबार मृत्यु भएको हो ।




